१८ आश्विन २०८१, शुक्रबार

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

प्रकाशित मिति :  28 September, 2023 12:59 pm


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखापरेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए। उनले देशमा अराजकताका सङ्केतहरु देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

प्रवक्ता सापकोटाले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए । यस्तै, आन्दोलनरत राहत शिक्षकहरूसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको उनले बताए ।

‘‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरुले उठाएका प्रश्नहरु, गुनासोहरुको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसदमा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढङ्गले छलफल गर्‍यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छलफल गर्‍यौँ । देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा ।,’’ प्रवक्ता सापकोटाले भने, ‘‘त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका सङ्केतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिन सक्छ । ’’

प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपिल गरे ।



प्रतिक्रिया दिनुहोस !