१८ आश्विन २०८१, शुक्रबार

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  28 September, 2023 4:06 pm


काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन्।

असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरू तानिएका हुन्। साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ।

७ गतेदेखि आजसम्म पाठकहरू उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकहरुले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा आफूहरूको रहेको साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले बताए।

उनले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रुपमा रहेको र बाबुराम आचार्यले लेखेको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताए। उनले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र ५ सय बढी विधाका पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए।

उनले पहिला आख्यानहरू धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताए। उनले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताए।

उनले भने, “यहाँ दुई पुस्तक नयाँ छन्। एउटा भैरवबहादुर थापाको अल्फा साइन्स, नाट्य व्याकरण हो। बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनी थियो। त्यसलाई पुनःमुद्रण गर्न सकेका थिएनौँ। अहिले पुनः मुद्रण गरेर राखेका छौँ। प्रदर्शनी स्थललाई व्यवस्थित गरेका छौं। यहाँ ५ सय बढी विधाका पुस्तकहरु छन्। पहिला आख्यानहरु धेरै बिक्थे, अहिले पुराना र इतिहासको पुस्तकप्रति रुची बढेको छ। ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान छ।”

त्यस्तै प्रदर्शनीमा आएका शरद प्रधानले कतिपय पुस्तकहरू पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गरे। उनले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएको कारण विद्यार्थीहरूमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

साझा प्राशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तकहरू जोगाएर राख्न सक्नुपर्ने बताएको छ। पुराना पुस्तकहरूमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस !