१८ आश्विन २०८१, शुक्रबार

रुन्टीगढी गाउँपालिकाद्वारा घरेलु मदिरा प्रतिबन्ध लगाउने निर्णय

प्रकाशित मिति :  28 September, 2023 5:25 pm


रोल्पा । रुन्टीगढी गाउँपालिकाले घरेलु मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरको छ ।

आज बसेको कार्यपालिका बैठकले खुल्ला रुपमा बिक्री हुँदै आएको घरेलु मदिरा यही असोज २० गतेदेखि लागू हुने गरी रुन्टीगढी गाउँपालिका भरी पूर्ण रुपमा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए ।

उनले भने,“आज बसेको कार्यपालिका बैठकले खुल्लारुपमा बिक्री हुँदै आएको घरेलु मदिरा यही आश्विन २० गते देखि लागु हुने गरि रुन्टीगढी गाउँपालिका भरी पूर्णरुपमा बेचबिखन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ”

अध्यक्ष पुनले गाउँपालिका भित्र घरेलु मदिराको प्रयोग अत्यधिक देखिएको भन्दै शान्ति अमनचयन कायम गर्न र हिंसात्मक गतिविधि हुन नदिन घरेलु मदिरा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने,“ यसलाई व्यवस्थापन गर्ने उठेको छ तर हाम्रो क्षमताले भ्याउँदैन । प्रदेश सरकारले कुनै नियम कानुन बनायो भने यसलाई व्यवस्थापन गर्न सकिएला तर अहिलेलाई प्रतिबन्ध नै लगाउने निर्णय गरेका छौँ ।”

उनले उद्योगबाट उत्पादित मदिरालाई पनि व्यवस्थापन गर्ने प्रयास गरिरहेको जानकारी दिए ।

उनले भने,“ उद्योगमा उत्पादित मदिराको प्रसंग पनि छ । यसलाई कसरी व्यवस्थापन गर्ने हामी सोंच्दै छौँ । निश्चित समय ताकेर बिक्रीवितरण गर्ने कि भन्ने सोचिरहेका छौँ ।”

पछिल्लो समय स्थानीय रुपमा उत्पादन भएको मदिरालाई व्यवस्थापन र ब्राण्डिङ गर्ने विषय उठिरहेका बेला रुन्टीगढी गाउँपालिकाले भने प्रतिबन्ध लगाएको छ ।

अध्यक्ष पुनले प्रदेशले यसबारे नियम कानुन र कार्यविधि बनाए आफूहरु व्यवस्थापन गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !