१८ आश्विन २०८१, शुक्रबार

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेनः अध्यक्ष नेपाल

प्रकाशित मिति :  28 September, 2023 6:02 pm


काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् ।

उनले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

उनले भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटी बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसावले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामीपनि आकर्षित गराउन चाहन्छौँ । संसद चल्दाखेरी संसदमा आवाज उठाउने हो । अरु बेलामा सरकारको ध्यान हामीले विभिन्न माध्यमबाट आकर्षित गर्ने हो ।’

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए । उनले आवश्यक कुराहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्ने बताए ।

उनले भने, ‘शिक्षक संगठनहरूको सहमति भइसकेको छ । कतिपय कुरा अझैपनि अपुग भयो भन्ने कुरा उठेका छन् । यि सबै कुराहरूको बारेमा सरकारको ध्यान आकर्षित हुनुपर्दछ । सबै न्यायोचित मागहरु, जायज मागहरु पूरा गर्ने सन्दर्भमा विधेयकमा मिलाउनुपर्ने कुरा छन् भने विधेयकमा मिलाएर, अरु नीतिमा मिलाउनुपर्ने कुरा छ भने नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्छ ।’

अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताए ।



प्रतिक्रिया दिनुहोस !