१८ आश्विन २०८१, शुक्रबार

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसदहरूको माग

प्रकाशित मिति :  29 September, 2023 5:59 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् ।

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

उनले स्वास्थ्यकर्मीहरूको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताए । भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताए ।

सांसद भण्डारीले भने, “नेपालको स्वास्थ्य क्षेत्रमा समस्याहरु छन् । समस्याहरु जनशक्तिको छ, दरबन्दी बढ्दैन । जुन कुरा हामीले बारम्बार कुराहरु उठाइरहेका छौं । संघ, प्रदेशका अस्पतालमा स्वास्थ्यकर्मीहरुको संख्या बढाइदिने हो भने जनताको समस्या सम्बोधन हुन्थ्यो । जनताको चाहना अनुसार काम गर्न सकेनौं । प्रशासनका मान्छेले दरबन्दी सृजना गर्दा समस्या आएको हो । हामीले अस्पताल दिन्छौं तर, त्यसलाई स्रोत, साधन हेर्दैनौं । चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिँदैनौं । हाम्रो मोनिटरीङ छैन । चिकित्सा शिक्षा आयोगले दरबन्दी दिनसक्छ विद्यार्थी संख्या दिन्छ तर, उपकरणको कुरा गर्दैन । त्यहीबाट यो देशमा स्वास्थ्यकको समस्या परेको छ । हामीसित जुन कानून छ, कानूनले काम नै गरेन ।”

समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरूको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए । उनले अरू तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताए ।

उनले भने, “कर्तव्य ड्युटी हो । आफ्नो जिम्मेवारी हो । ऐन कानून सुधार्न वार्ताको टेबलमा बस्नुपर्छ । अरु तरीकाले गरे राज्य अराजकतातिर जान्छ । वार्तामार्फत् जाँदा पहिलो कानूनमा सुधार, नियमावली सुधार, कार्यविधिमा सुधार के के हो त्यो टेबुलद्वारा पहलकदमी गर्न अनुरोध गर्न चाहन्छु । कोही व्यक्तिले संगठित तरीकाले अपराध गरेको छ भने थुन्नुपर्छ । समस्याको हल भनेको वार्ता हो । वार्ताको टेबुलबाट समस्याको हल हुनुपर्छ । गृह सचिवलाई अनुरोध छ, अपराध गर्ने जो सुकैलाई कारबाही गर्नुहोस् । कुट्ने कुरा अक्षम्य कुरा हो । हजार वटा फोन आएपनि अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ ।”

उनले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !