१८ आश्विन २०८१, शुक्रबार

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  1 October, 2023 10:59 am


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज (आइतवार) सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरू पक्षमा पनि सोच्नुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरू समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न आवश्यक रहेको बताए ।

“हामीले सडक दुर्घटनाबाट धेरै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । १० वर्षको सशस्त्र संघर्षका क्रममा मृत्युकै कोणबाट जति नेपाली दाजुभाई दिदिबहिनीहरुको मृत्यु हुन पुग्यो । पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा वा त्यो भन्दा बढी नै दुर्घटनाबाट मृत्यु भएको छ” उनले भने, “त्यस प्रकारको कहाली लाग्दो दुःखद् स्थितिको अन्त्य गर्नु कम सेकम त्यसलाई प्रभवकारी रुपमा यस प्रकारको स्थिति आउन नदिनु हामी सबैको गम्भीर जिम्मेवार भित्र पर्छ ।”

उनले सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए । श्रेष्ठले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरू, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढेमात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताए ।

गृहमन्त्री श्रेष्ठले ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर गर्ने बताए । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताए ।

गृहमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि धान्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !