१८ आश्विन २०८१, शुक्रबार

एसियाड क्रिकेटमा नेपाल भारतसँग पराजित

प्रकाशित मिति :  3 October, 2023 11:32 am


काठमाडौं । एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले दुई सय तीन रनको विशाल लक्ष्य दिएको थियो । नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले तीन, सन्दीप जोराले २९, सोमपाल कामीले सात, गुल्शन झाले छ, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले पाँच रन बनाए ।

भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान तीन÷तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।

भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाए ।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस !