१८ आश्विन २०८१, शुक्रबार

स्याङ्जामा चाडपर्व लक्षित बजार अनुगमन : ४ लाख भन्दा बढी राजस्व संकलन

प्रकाशित मिति :  3 October, 2023 12:14 pm


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा दर्जनौ फर्महरू कारबाहीमा परेका छन् ।

चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्लाका ६ वटा पालिकामा बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनबाट मूल्य सूचि नराखेका, बिला बिजक जारी नगरेका, म्याद गुज्रिएका सामाग्री विक्रिवितरण गरेका फर्महरूलाई कारबाही गर्दा ४ लाख ३५ हजार राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । चाडपर्व अगावै थप ५ वटा पालिकामा पनि बजार अनुगमन गरिने पौडेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा हालसम्म फेदीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र भीरकोट नगरपालिकामा बजार अनुगमन गरिसकिएको छ । बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, उपभोक्ता मंच, नगरपालिकाका कर्मचारी र प्रहरीको समेत सहभागिता हुने गरेको छ ।

बजार अनुगमनका क्रममा चापाकोटमा सबैभन्दा बढी २ लाख ९० हजार राजस्व संकलन भएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री वितरण गरेको, बिल विजक जारी नभएको भेटिएपछि चापाकोटका किसान स्टोर्स, पाठक हार्डवयर, न्यु राधाकृष्ण ट्रेडर्स, सोनी दामाचौर हार्डवेयर र खनाल स्टोर्स कारबाहीमा परेका हुन् ।

यसैगरी गल्याङ नगरापालिकाबाट २५ हजार राजस्व संकलन भएको छ । तुलसीभन्ज्याङ साना किसान सहकारीद्वारा संचालित सस्तो पसललाई २० हजार जरीवाना गरिएको छ भने अन्य १ फर्मलाई ५ हजार जरीवाना गरिएको जिल्ला प्रशासनले जनाएको छ । अर्जुनचौपारी र फेदीखोला गाउँपालिकाबाट ५\५ हजार राजस्व संकलन भएको छ ।

यसैगरी सोमबार भीरकोटमा गरिएको अनुगमनका क्रममा ३ वटा फर्महरू कारबाहीमा परेका छन् । कारबाहीमा परेका फर्महरूबाट १ लाख १० हजार राजस्व संकलन भएको छ । अनुमति नलिई ल्याब संचालन गरेका प्रशन्ना मेडिको फर्मा र सिटी फार्मेसीलाई ५०\५० हजार जरिवाना गरिएको छ । बिल बिजक जारी नगरेको कारण ओम हार्डवयरलाई १० हजार जरीवाना गरिएको छ ।उपभोक्ता संरक्षण ऐन २०७५ को बमोजिम फर्महरूलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !