१८ आश्विन २०८१, शुक्रबार

धार्मिक सद्भाव भड्किने देखिएपछि नेपालगञ्जमा कर्फ्यू जारी

प्रकाशित मिति :  3 October, 2023 2:18 pm


काठमाडौं । बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना हुने अवस्था आएपछि कर्फ्यू लगाइएको छ ।

मंगलबार हिन्दु समुदाय भेला भएर प्रर्दशनमा उत्रिएपछि झडप र सद्भाव भड्किने अवस्था देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको छ ।

उक्त अभिव्यक्तिले इस्लाम धर्ममा आस्था राख्नेहरूलाई चोट पुर्‍याएको भन्दै दुई दिनअघि नेपालगञ्जमा टायर बालेर उनीहरूले जिल्ला प्रशासनमा नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा मंगलबार हिन्दू धर्ममा आस्था राख्नेहरूले प्रर्दशन गरेपछि समस्या बल्झिएको हो ।

ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !