१८ आश्विन २०८१, शुक्रबार

भारतको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता

प्रकाशित मिति :  4 October, 2023 3:01 pm


काठमाडौं । भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीले २३ जना जवानलाई बगाएको छ । सिक्किममा भारी वर्षापछि आएको बाढीमा परेर २३ जना भारतीय सेनाका जवान बुधबार बेपत्ता भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

ल्होनक तालमाथि मंगलबार भीषण वर्षा हुँदा लाचेन उपत्यकास्थित टिस्टा नदीमा अचानक बाढी आएको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।

नदीसँगै जोडिएको क्षेत्रमा भारतीय सेनाको क्याम्प थियो। जो बाढीको चपेटमा परेर बगेको मन्त्रालयले जनाएको छ ।

गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार अचानक पानी बढेपछि चुङ्गथाङ्ग बाँध खोल्दा तल्लो तटीय क्षेत्र पनि डुबानमा परेको छ। बाढीका कारण सिन्गताम नजिकै बारदाङ्गमा राखिएका सेनाका ४१ वटा गाडी पनि बगेका छन्।

सेनाका अनुसार अचानकको भीषण वर्षका कारण टिस्टा नदीको जलस्तर १५ देखि २० फिटसम्म बढेको छ। त्यसपछि नदीसँग जोडिएको क्षेत्रमा पानी भरिएको छ। कयौँ घरमा बाढीको पानी पसेको छ। मानिसहरुलाई ती घरबाट उच्च स्थानमा निकालिएको छ।



प्रतिक्रिया दिनुहोस !