टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन
काठमाडौँ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा फोन गर्न सक्ने टेलिकमले उल्लेख गरेको छ ।
चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको जनाएको छ ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । टेलिकमका अनुसार अब टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो वाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने उल्लेख गरिएको छ ।
करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।