१८ आश्विन २०८१, शुक्रबार

कांग्रेसबिनाको सरकारको कल्पना गर्न सकिँदैनः माधव नेपाल

प्रकाशित मिति :  4 October, 2023 4:21 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।

मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका नेपालले बुधबार आयोजति कार्यक्रममा अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताए ।

उनले भने, “कांग्रेसबिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन ।”

प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको नेपालको जिकिर छ । ‘अरू कुनै सरकारको, अरू कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन,” उनले भने,”नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ । कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ ।”

सरकारले केही राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको उनले बताए । यो सरकार अघि बढाउने पक्षमा आफूहरू रहेको उनको भनाइ छ । “अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ,” नेपालले भने, “गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भूमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ ।”



प्रतिक्रिया दिनुहोस !