१८ आश्विन २०८१, शुक्रबार

चाडपर्व लक्षित सडक मर्मतका लागि बजेट अभाव छः मन्त्री ज्वाला

प्रकाशित मिति :  4 October, 2023 4:33 pm


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् ।

बजेटको अभावका कारण दसैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो ।

बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए । मन्त्री ज्वालाले भएको स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । उनले काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी भने दसैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री ज्वालाले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुहरूलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए । यात्रुहरूलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनले बताए ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैर जिम्मेवार बन्न नहुने बताए । उनले यात्रुहरूलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे । उनले एउटै परियोजनामा अर्ब बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !