१८ आश्विन २०८१, शुक्रबार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल दुर्गममा पनि सञ्चालन गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति :  4 October, 2023 5:03 pm


काठमाडौँ । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा नुन, चिनी, चामल, दाल लगायतका अत्यावश्यक वस्तुहरूको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसलाजन्य वस्तुहरू (जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरू सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारलाई निर्देशन दिँदै समिति सभापति अब्दुल खानले सरकारले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरू देशका दुर्गम र हिमाली जिल्लाहरू सहित विभिन्न स्थानहरूमा समेत थप गरी त्यस्ता पसलहरूबाट जनतालाई सहज रूपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

समितिले छलफलमा सुपारी खेती व्यवसायको हालको समग्र अवस्थाका सम्बन्धमा सरोकारवालाहरूसँग जानकारी लिँदै यस विषयमा समितिले थप अध्ययन गरी सरकारका सरोकारवाला मन्त्रालय र पक्षसँग समितिको अर्को बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !