१८ आश्विन २०८१, शुक्रबार

संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँ : सांसद सापकोटा

प्रकाशित मिति :  5 October, 2023 4:50 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले संसद्लाई एकअर्कोलाई आरोप र प्रत्यारोप गर्ने थलो बनाउन नहुने बताएका हुन् ।

राजनीतिक विषय बाहिर गर्नुपर्ने र संसद्लाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने सांसद सापकोटाको भनाइ थियो । सांसदहरूले आफ्नो मूल जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उनको आग्रह थियो ।

‘हामी जिम्मेवार हौँ । हामी धेरै प्रतिक्रियाको राजनीति गर्ने थलो संसद्लाई नबनाऔँ । अरु धेरै राजनीतिक कुराहरू सर्वदलीय बैठकको आयोजना गरेर त्यहाँ भन्ने गरौँ । संसद्भित्र जनताका कुरा, संविधान र कानुन निर्माणका कुरालाई जोड दिएर अगाडि लगियोस्,’ उनले भने, ‘संसद्लाई धेरै राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो, एकले अर्कोलाई नांगेझार पार्ने चिज नबनाऔँ ।’

सांसद सापकोटाले समाजमा भइरहेका सद्भावना विपरीतका गतिविधि नियन्त्रण गर्नका लागि राजनीतिक दलका नेताहरूले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘समाजलाई अनुशासित बनाउने हो भने, सामाजिक सञ्जालमा व्यक्त भइराखेका उश्रृंखलतालाई हामीले नियमन गर्ने हो भने सबभन्दा पहिला सबै नीतिको माउ नीति राजनीति हुनुका नाताले राजनीतिज्ञ ज्यादा अनुशासित हुनुपर्दछ । शिर्ष नेता ज्यादा अनुशासित हुने, जिम्मेवार हुने र सिंगै देशलाई एउटा सन्देश दिने र देशलाई कमाण्डमा लिनका निम्ति उहाँहरू स्वःअनुशासित हुनुपर्दछ ।’

त्यस्तै, मुलुकमा भइरहेका जातीय र साम्प्रदायिक घटनाहरूप्रति सबै राजनीतिक दलहरू सचेत हुनुपर्ने सापकोटाको भनाइ थियो । उनले सबै राजनीतिक दलहरू जातीय र धार्मिक सद्भाव कायम गर्नका लागि एकताबद्ध भएर सन्देश दिनुपर्ने आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !