१८ आश्विन २०८१, शुक्रबार

सरकारसँग सर्वोच्चले माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण

प्रकाशित मिति :  5 October, 2023 5:33 pm


काठमाडौँ । सर्वोच्च अदालतले नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरूद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो। रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए। चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन्।

अदालतले लिखित जवाफका लागि असोज २४ गते साँझ ५ बजेसम्मको समय दिएको छ। असोज २६ गते सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोक्न पनि आदेशमा उल्लेख छ। त्यस दिन आकस्मिक विदा परेमा वा कुनै कारणले सुनुवाइ हुन नसकेमा भोलिपल्ट अर्को पेसी तोक्न पनि इजलासले भनेको छ।

साथै यस मुद्दासँग सम्बन्धित मिसिल र फाइलहरू अदालत र सरकारका कुनै पनि निकायमा भए पनि साथै पेस गर्न सर्वोच्चले आदेश दिएको छ। रिट निवेदक भारती शेर्पा र उनको परिवारलाई सुरक्षाको व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ।



प्रतिक्रिया दिनुहोस !