१९ आश्विन २०८१, शनिबार

भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुँदैछ : प्रजिअ बस्नेत

प्रकाशित मिति :  6 October, 2023 11:23 am


काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन् । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको उनले बताए । उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भीभीआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।

उनले भने, ‘भीभीआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भीभीआईपीहरूको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ ।’ प्रजिअ बस्नेतले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको समेत जानकारी दिए ।

‘अहिले पछिल्लो चरणमा भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको छ’ बस्नेतले भने, ‘त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ । अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र आम नागरिकलाई असर नपर्ने गरी भीभीआईपीको भ्रमण गर्ने कार्यविधिमा व्यवस्थापन गरिएको छ । बिस्तारै त्यो लागू भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्युको भिजिटबाट प्रमाणित हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताए । उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !