२० असार २०८१, बुधबार

नेपाल चेम्बर अफ कमर्सद्धारा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारलाई सुझाव पेश

प्रकाशित मिति :  27 April, 2020 6:03 pm


काठमाण्डौं, १५ बैशाख ।

नेपाल चेम्बर अफ कमर्सले पर्यटनसँग आवद्ध क्षेत्रको पुनरुत्थानका लागि विभिन्न सुझाव पेश गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर नेपाल चेम्बर अफ् कमर्सका टोलीले कारोना भाईरसले पारेको प्रभावबाट उठ्नका लागि विभिन्न सुझाव दिएको हो ।

आन्तरिक पर्यटन तर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक रहेको कमर्सको सुझाव छ ।

यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न सरकारलाई सुझाव दिईएको छ ।

त्यस्तै निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेे वातावरण बनाउनु पर्नेमा कमर्सको सुझाव छ ।

हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको भन्दै आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने सुझावमा उल्लेख छ ।

त्यस्तै नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पद्र्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सले सुझाव दिएको छ ।

पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि मूल्यका आधारमा होटल लगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुमा जोड दिईएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने समेत सुझावमा उल्लेख   छ ।

हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, ¥याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्ती सफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने चेम्बस अफ कमर्सको विश्वास छ ।

त्यस्तै हवाइ सेवा तर्फ आईकाओ अन्य मुलुकका हवाइ सेवा प्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षित रुपमा संचालन गर्न सकिने सो वारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाइ समेत संचालन गर्न पाइला चाल्नु पर्ने सुझावमा उल्लेख छ ।

हवाइ उड्डयन तर्फ ऋण दिन बित्तिय संस्था हिच्किचाउने भन्दै चेम्बरले ऋण, ऋणको ग्यारेण्टी, करर्पोरेट बोण्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्ने छ ।

हाल सिमित पाटपूर्जामा मात्र दिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने लगायतको सुझाव दिईएको अध्यक्ष श्रेष्ठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !