३ माघ २०८१, बिहिबार

इजरायलमा भएको घटनालाई नेपाल सरकारले गम्भीर रूपमा लिएको छ : मन्त्री साउद

प्रकाशित मिति :  8 October, 2023 1:49 pm


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा भएको आक्रमणलाई नेपाल सरकारले गम्भीर रूपमा लिएकाे बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यस घटनाबारे जानकारी गराउँदै साउदले नेपाली समयअनुसार हिजो (शनिबार)बिहान ६ बजेदेखि हवाई, जल, स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा भएकाे आक्रमणमा १२ जना नेपाली सम्पर्कविहीन भएको बताउँदै यसलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् ।

उनले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेकाे र इजरायमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत रहेकाे जानकारी दिए ।

यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचामलन गरिएको छ ।’’

त्यस्तै आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूका स्थिति जानकारी लिन आफ्नो नेतृत्वमा समन्वय संयन्त्र बनाएको साउदले जानकारी दिए ।

‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र बस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने भए गर्ने, समन्वय तथा सहयोगलगायत कार्य गर्नेछ,’ मन्त्री साउदले भने।



प्रतिक्रिया दिनुहोस !