१९ आश्विन २०८१, शनिबार

इजरायलमा अलपत्र नेपालीको उद्धारको विषयमा छलफल चलाउन सभामुखसँग राप्रपाको माग

प्रकाशित मिति :  9 October, 2023 1:50 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्ने गरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचीलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूची परिवर्तन गर्न माग गरे । इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए ।

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘आजको नियमित संसद्लाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्धार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने रु आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दक्षिण अफ्रिकी देशहरू लगायत धेरै देशहरुमा अहिले नेपालीहरू अलपत्र परेका छन् । उनीहरूको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसद्बाटै आदेश जारी होस् । र आज चलिरहेको संसद्लाई नियमित कार्यसूचीलाई पछाडि राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साझा रूपमा छलफल गरी बैठकको कार्यसूची तय गर्ने बताएको उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !