१९ आश्विन २०८१, शनिबार

परराष्ट्रद्वारा इजरायलमा भएका नागरिकबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी

प्रकाशित मिति :  10 October, 2023 1:27 pm


काठमाडौं । नेपाल सरकारले इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । मंगलबार परराष्ट मन्त्री एनपी साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायल सरकारप्रति ऐक्यबद्धता रहेको जानकारी दिएका छन् ।

मन्त्र िसाउदले हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरु प्रभावित भएको विषयमा पनि जानकारी गराएका छन् ।

साउदले भने ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको छ । यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ ।’

परराष्ट्र मन्त्री साउदले इजरायलमा बंकरभित्र रहेका ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको समितिमा जानकारी गराए ।

साउदले भने हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । शवहरु नेपाल ल्याउन पहल भइरहेको छ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर रहेको र २६५ जना विद्यार्थी रहेको जानकारी दिँदै उनले नेपाल आउन इच्छुकलाई ल्याउने तयारी अगाडि बढेको बताए ।

मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिसकेको छ भने आज राष्ट्रिय शोक घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !