१० मंसिर २०८१, सोमबार

‘जीवन र खाद्यको आधार पानी हो’ नारासहित ४३औँ विश्व खाद्य दिवस मनाइने

प्रकाशित मिति :  10 October, 2023 5:49 pm


काठमाडौँ । ‘जीवन र खाद्यको आधार पानी हो’ भन्ने नाराका सहित ४३ औं विश्व खाद्य दिवस मनाइने भएको छ । मंगलबार विश्व खाद्य तथा कृषि संगठन एफएओको नारामा रही नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागले आगामी असोज २५ गते भव्य रूपमा खाद्य दिवस मनाउने तयारी गरेको हो ।

कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दिर्घकालिन रूपमा कुपोषित हुने अनुमान गरिएको छ जसले भाकेमारी उन्मूलनका लागि दिगो विकास लक्ष्य हासिल गर्ने ठूलो चुनौती रहेको सङ्केत गरेको कृषि विभागले जनाएकाे छ ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्व बारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरुलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्नु यस दिवसको मूल्य उद्देश्य रहने विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ । त्यसै गरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गा मध्ये सिँचाई सुविधा भएको जग्गाको क्षेत्रफल ५४.४ प्रतिशत मात्र रहेको विभागको भनाइ छ ।

४३ औँ खाद्य दिवसको अवसरमा कृषि तथा खाद्य सुरक्षाका लागि नारामा आधारित लेख रचना प्रतियोगिता, पोष्टररपेन्टिङ्ग, रेडियो तथा टेलिभिजन संवाद कार्यक्रम गर्ने, खाद्य दिवसका अवसरमा असोज गते प्रभातफेरी कार्यक्रम गर्ने र उत्कृष्ट ९ विधामा काम गर्ने कृषकहरूलाई सम्मान गर्ने विभागले जनाएको छ ।

खाद्य सुरक्षाको अवधारणा विश्वव्यापीरुपमा सन् १९७० को मध्य दशकमा विकसित भएको हो । सज् १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा विश्वव्यापी आपूर्तिलाई परिभाषित गरेको छ भने सन् १९८३ मा विश्व खाद्य तथा कृषि सङ्गठनले प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने आधारभूत खाद्यान्नमा भौतिक पहुँच हुनुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस !