१९ आश्विन २०८१, शनिबार

मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दैछौँ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  10 October, 2023 5:56 pm


काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सु:स्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने उनले बताए । सबै नागरिकको मानसिक सु:स्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको उनले जानकारी दिए ।

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरीतिलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने उनले बताए । समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संशोधनलगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !