अबदेखि क्यासिनो विदेशी सिमाभन्दा ५ किलोमिटर टाढा राख्नुपर्ने
काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित गरेको छ ।
समितिले बुधबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
मंगलवार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो।
समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरेकाे सभापति विमला सुवेदीले बताइन् ।
तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रश्ताव गरिएको उनले बताइन् ।