१९ आश्विन २०८१, शनिबार

गठबन्धनलाई कमजोर बनाउने प्रयास निस्तेज पार्‍यौं : प्रधानमन्त्री

प्रकाशित मिति :  15 October, 2023 3:42 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने प्रयास निस्तेज पारिएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षड्यन्त्र भएको भन्दै कोसीमा उक्त षड्यन्त्र निस्तेज पारिएको बताए ।

अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन कि भनेर एकथरि विक्षिप्त भएको जिकिर गरे । कोसीमा गठबन्धनलाइ नै विभाजन गर्ने कोसिस निस्तेज पारिएकाले अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छेहरू यहाँभित्र खेल्न सकिन्छ कि भनेर, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत ती कामहरू भएका छन्,’

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनसँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिँदै देशभित्र र बाहिर रहेका नेपालीको हितमा सरकारले काम गरिरहेको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।



प्रतिक्रिया दिनुहोस !