१९ आश्विन २०८१, शनिबार

नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र सुशासनको पूर्ण अनुभूति गर्न सकिन्छ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  16 October, 2023 1:33 pm


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको बताएका छन् ।

६८ औँ प्रहरी दिवसको अवसरमा आज(सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताएका हुन् ।

साे अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरूलाई कदरपत्र प्रदान गरे । साथै उनले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निः शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरे ।

समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने उल्लेख गरे ।

साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उनले बताए । आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको उनले चर्चा गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रीत रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिए ।

नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उनले व्यक्त गरे ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गरिन् । समारोहमा विशिष्ट अतिथि पूर्व सभासद एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, अन्य विशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !