१९ आश्विन २०८१, शनिबार

अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  17 October, 2023 1:05 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

मंगलबार गैर आवासीय नेपाली संघको ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूको प्रतिष्ठा बढाउन आग्रह गरेका हुन्।

उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीब्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताए। देश विकसित भएमात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरूको प्रतिष्ठा बढ्न नसक्ने बताए।

उनले भने,”म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीब्र आर्थिक विकास गर्न सकेमात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उचो हुनेछ। हाम्रो देश विकसित भएमात्रै तपाईँहरू सबैको जुन देशमा रहेपनि शिर उचो हुनेछ। नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन। नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईहरुको रणनीतिक भुमिका र दायित्व वाञ्छनीय छ।”

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताए।

उनले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको पनि बताए। उनले आगामी दिनमा पनि गैर आवासिय नेपालीहरूले नेपालको विकास र समृद्धिका लागि लगानी गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले आफ्ना सन्तानहरूलाई नेपाली भाषा र संस्कृति सिकाउन पनि गैर आवासीय नेपालीहरूलाई आग्रह गरे। उनीहरूलाई नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।

उनले भने,”नेपाल बाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूको आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईँहरू सचेत हुनुपर्छ। नेपाल प्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसँग अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने यहाँको संस्कृति, सामाजिक परिवेश परिचित गराउनु होला।’



प्रतिक्रिया दिनुहोस !