१९ आश्विन २०८१, शनिबार

महानगरको २३ औँ कार्यपालिका बैठक : २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति

प्रकाशित मिति :  18 October, 2023 12:10 pm


काठमाडौँ । २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको बैठकमा शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समय दिएका थिए ।

महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आवश्यक देखिएका कानुन तर्जुमा गर्न लागिएको हो । यसका लागि विभाग र समितिहरूबाट प्रस्ताव आएका हुन् ।

‘यी कानुनले महानगरपालिकाका वडादेखि केन्द्रसम्म सबै पदाधिकारी, अधिकारी तथा संयन्त्रको सहभागितालाई सुनिश्चित गर्छ’, मेयर शाहको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सैद्धान्तिक सहमति लिएका विषयहरू छलफलका क्रममा एक आपसमा गाभिन सक्ने सम्भावना रहेको पनि बताए ।

बैठकमा विधायन समितिका सदस्य एवं वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले, ८ वटा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेस गरे । यसरी प्रस्ताव गरिएका कार्यविधिमा ‘विद्यालय शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८०’, ‘स्रोत शिक्षक नियुक्ति कार्यविधि २०८०’, ‘काठमाडौँ महानगरपालिका, अस्पतालहरूमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने कार्यविधि २०८०’, ‘गौरव तथा स्वर्णिम योजना कार्यविधि २०८०’, ‘टोल विकास संस्था सञ्चालन कार्यविधि २०८०’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’, ‘मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०८०’ र ‘कन्टिजेन्सी सम्बन्धी कार्यविधि २०८०’ रहेका छन् ।
कार्यविधिमाथि थप छलफल गर्नुपर्ने कार्यपालिका सदस्यहरूबाट सुझाव आएपछि प्रस्तावित कार्यविधि संशोधनसहित पारित भएको महानगरले जनाएको छ ।

बैठकले प्रमुख शाहको अध्यक्षतामा ‘काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन २०८०’ निर्देशक समितिलाई अनुमोदन गरेको छ । सहरी योजना आयोगका उपाध्यक्ष सदस्य सचिव रहने समितिको सदस्यहरूमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, सामाजिक समितिका संयोजक रामकुमार के। सी।, विज्ञहरू विभूषण विष्ट र नरोत्तम अर्याल छन् ।

त्यस्तै बैठकले कानुनी सल्लाहकारहरूको म्याद कार्तिक १५ गतेसम्म थप गरेको छ । वडा नम्बर २९ को कार्यालय भवन र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि अनामनगरमा रहेको कित्ता नंं ८, ९ र १० को सरकारी जग्गा महानगरपालिकाको स्वामित्वमा प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै वडा नम्बर ३० को भवन निर्माण गर्न रामचन्द्र निजी गुठीको जग्गा लिजमा लिएर महानगरपालिकाको नाममा भवन नक्सा पास गरी वडा कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि रिक्त भएको पूर्वाधार समितिको संयोजकमा वडा नम्बर १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठलाई र सदस्यमा वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनलाई तोक्ने निर्णय गरेको छ । यस्तै नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई कायममुकायम नगर प्रहरी वरिष्ठ उपरीक्षक तोकेको छ । बैठकले वडा नम्बर ४ धुम्बाराहीको तस्वाः देगः मन्दिर परिसरको निर्माण कार्यको म्याद थपेको छ । यस्तै वडा नम्बर ११ भद्रकालीदेखि सिंहदरबार सडक किनाराको रेलिङ निर्माण र वडा नम्बर रामहिटीमा निर्माणाधीन साहित्य सदनको भेरिएसन र निर्माण कार्यको अवधि थप गर्ने निर्णय गरेको छ ।

जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को संशोधन प्रस्ताव नगर सभामा लैजाने बैठकबाट भएको अर्को निर्णय हो । यस्तै वडा नम्बर १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको छ ।

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के। सी।, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका सदस्य सरोज ढकालले आफ्ना समितिसँग सम्बन्धित प्रस्ताव पेस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !