२० आश्विन २०८१, आइतबार

नागढुंगा सुरुगमार्गको पूर्वी खण्डका पीडित स्थानीयलाई मासिक घर भाडा दिइने

प्रकाशित मिति :  20 October, 2023 11:52 am


काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ ।

बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु २० हजारदेखि रु २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

चन्द्रागिरी नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा मेयर घनश्याम गिरीले तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताएका थिए ।

सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराइयो ।

राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँच सय ७५ मिटर रहेको छ ।

नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा कार्यान्वयनमा आएको सो आयोजना विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !