२० आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशबाट बैदेशिक रोजगारी जाने मध्ये सीपमूलक तालिम लिनेको संख्या न्यून

प्रकाशित मिति :  27 October, 2023 11:50 am


काठमाडौँ । लुम्बिनी प्रदेशबाट बैदेशिक रोजगारी जाने मध्ये सीपमूलक तालिम लिएर जानेको संख्या न्यून देखिएको छ ।

नेपाल राष्ट्र बैंकको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा समाजिक क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन–२०८०’ अनुसार सीपमूलक तालिम नलिएर जानेको संख्या ७६ प्रतिशत देखिएको छ । तालिम लिएर जानेको हिस्सा मात्रै २४.० प्रतिशत छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्धता रहेका श्रमिक ४०.० प्रतिशत र ६०.० प्रतिशत बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले अध्ययनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पेशालाई लेवर/कामदार, सुरक्षा, होटल, ड्राईभर, प्राविधिक र अन्य गरी ६ वटा प्रमुख पेशामा वर्गीकरण गरेको थियो ।

सबैभन्दा बढी लेवर/कामदार पेशामा वैदेशिक रोजगारीमा गएका ४२.८० प्रतिशत छन् भने सबैभन्दा कम ड्राईभर पेशामा ४.७० प्रतिशत आबद्ध रहेका छन् ।

ड्राईभर पेशामा आबद्धमध्ये ६१.१० प्रतिशत श्रमिकहरूले वैदेशिक रोजगारमा जानुपूर्व तालिम लिएको भेटिएको छ ।

सबैभन्दा बढी सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका लेवर/कामदारहरुमध्ये १०.४० प्रतिशतले मात्र जानुपूर्व सीप विकास तालिम लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारमा जानुपूर्व तालिम लिएका मध्ये ८९.६० प्रतिशत लेवर/कामदार बाहेकका पेशामा कार्यरत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !