२० आश्विन २०८१, आइतबार

सानेपामा नेपाली कांग्रेसको चियापान कार्यक्रम

प्रकाशित मिति :  28 October, 2023 2:29 pm


काठमाडौं । नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत गरिरहेका छन् । भर्खरै प्रारम्भ भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।

कांग्रेसले हरेक वर्ष बडादशैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्ने गरेको छ।

सानेपामा जारी कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको नेताहरू बताउँछन् । २०३८ सालसम्म बीपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछिका सभापतिले पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !