२० आश्विन २०८१, आइतबार

लुम्बिनी भ्रमण सकेर आज काठमाडौँ आउदै गुटेरेस, संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने, व्यवस्थापकीय तयारी पूरा

प्रकाशित मिति :  31 October, 2023 8:54 am


काठमाडौँ । आज (मंगलवार) दुबै संसदको संयुक्त बैठकलाई महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन्।  संघीय संसद् सचिवालयले सम्बोधन गर्ने संसद् बैठकको तयारी पूरा गरेको छ।

दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । यसका निम्ति संघीय संसद् सचिवालय तयारीमा जुटेको हो।

आज पोखराबाट अन्नपूर्ण बेसक्याप अवलोकन, पोखरामा पत्रकार भेटघाट लगायतका कार्यपश्चात लुम्बिनी भ्रमण गर्ने भ्रमण तालिका रहेको छ । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचिवालयका प्रवक्ता एकराम गिरीले सोमवारदेखि नै तयारी गरिएको र मंगलवार विहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा गर्ने गरी सचिवालयले कम गरेको बताए। 

उनले भने, “तयारीहरू अन्तिम चरणमा पुगिसकेको अवस्था छ । अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरू रिचेक गर्ने काम भएको छ । अन्य व्यवस्थापनका कामहरू पनि आवश्यकता अनुसार भइ नै रहेका छन् ।”

प्रवक्ता गिरीले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।

उनले भने, “संसदको अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुन्छ । सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ । सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रस्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ ।”

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिए । 

उनले भने, “संसदमा रोष्टमबाट बोलेको कुरो संसदमा त्यहीँ अगाडि नै रोष्टममा बसेर अनुवाद गरेर अगाडि जान सक्ने अवस्था देखिन्न । अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ । उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकिएको छैन ।”

उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने स्पष्ट पारे । 



प्रतिक्रिया दिनुहोस !