२० आश्विन २०८१, आइतबार

‘भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नहटाएसम्म समस्या समाधान गर्न कठिन’

प्रकाशित मिति :  31 October, 2023 5:16 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले पछिल्लो समय नेपालमा चिनीको अभावको कारण विभिन्न समस्या आएको भन्दै सरकारले समस्या समाधानको लागि सक्दो प्रयास गरिरहेको बताए ।

उनले दसैँका लागि चिनी उद्योग र विभिन्न उद्योगहरूमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिवन्ध नखोलेसम्म समस्या समाधान गर्न गम्भिर हुनुपर्ने अवस्था रहेको बताए । उनले चिनीमा समस्या आउनुको प्रमुख कारणहरूमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने,भारतले प्रतिवन्ध लगाउनु,आन्तरिक उत्पादनले धान्ने अवस्था नभएको,मुलुक भित्रका चिनी उद्योगहरूलाई पूर्ण रूपमा चलाउनको लागि पर्याप्त कच्चा पदार्थको कमी रहेको बताए ।

निरौलाले चिनी आयातको विद्यमान भन्सार महशुल ३० प्रतिशत,मूल्य अभिवृद्धिदर १३ प्रतिशत,कृषि शुल्क १।५ प्रतिशत हुँदा घरेलु मूल्य भन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको बताए । उनले नेपालमा चिनीको वार्षिक उत्पादन १ लाख ४० हजार देखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ भने नेपालमा चिनीको वार्षिक माग २ लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म रहेको बताए ।

उनले पछिल्लो समय नेपालमा चिनीको आयात पनि घट्दो क्रममा रहेको भन्दै चालु आर्थिक वर्षमा भारतले चीनी निर्यातमा प्रतिवन्ध लगाएको कारण शुन्य परिणाम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !