२० आश्विन २०८१, आइतबार

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदैछ : महासचिव गुटरेस

प्रकाशित मिति :  31 October, 2023 6:33 pm


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै महाचिव गुटरेसले भने,“हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछ । परिवारहरू होस् वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् ।”

हिंसा र द्वन्द्व चुलिदै गएको भन्दै मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली भएको समेत उनले स्मरण गरे ।

उनले भने,“ मृत्यु भएका दश नेपाली विद्यार्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

विगत बीस वर्षको नेपालको यात्रा हेर्नलायक र अद्भुत रहेको उल्लेख गरे ।

उनले भने,“ नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईँहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नु भयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ ।”

नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको महासचिव गुटरेसको भनाई थियो ।

उनले भने,“ यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।”



प्रतिक्रिया दिनुहोस !