२० आश्विन २०८१, आइतबार

नेपाली सुपारी निर्यात गर्न कानुनी रूपमा प्रतिबन्ध गरेको छैन : उद्योग सचिव निरौला

प्रकाशित मिति :  1 November, 2023 3:43 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रूपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्दा सुपारीको डिइनए परीक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताए ।

उद्योग सचिव निरौलाले समितिको निर्देशनअनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई डिएनए परीक्षण भएको सुपारी मात्रै निर्यात गर्न निर्देशन दिएको भन्दै अन्य कुनै कानुनले निर्यातमा प्रतिबन्ध नलगाएको बताए ।

उनले नेपालमा नै उत्पादित सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई सिफारिस गर्न समेत नसकेको बताए ।

निरौलाले समितिबाट नेपालमा नै उत्पादित सुपारीको उत्पत्ति प्रमाण पत्र जारी गरी निर्यात गर्ने निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताए । उनले सुपारीलाई बाहिर निर्यात गर्न अन्य वस्तु जस्तै दिने वा के गर्ने भन्ने विषयमा छलफल बहस आवश्यक रहेको बताए ।

उद्योग सचिव निरौलाले कृषि मन्त्रालयबाट सुपारीको उत्पत्तिको प्रमाणपत्रसम्बन्धि राय आएमा नेपाल उद्योग वाणिज्य महासंघलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न लेखि पठाउन सकिने बताए । उनले आयातमा नियन्त्रण गर्ने व्यवस्था लागू हुँदा स्वदेशमा समेत नेपालमा उत्पादन भएको सुपारी खपत हुन समेत नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !