२० आश्विन २०८१, आइतबार

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छः चित्रबहादुर केसी

प्रकाशित मिति :  1 November, 2023 3:49 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताए ।

उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका बताए । उनले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।

उनले भने, “चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । बिपनाको कुरा छाडिदिऊँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिक राखेको त दलितहरू, विपन्न समुदायहरू, जनजातिहरू, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ ।”

उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताए । त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !