२० आश्विन २०८१, आइतबार

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबिच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

प्रकाशित मिति :  2 November, 2023 11:26 am


काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताएकी छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ जीतपुरस्थि सहिद परिवारसँगको भेटघाटमा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरूबिच सहकार्य हुने धारणा राखिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भईरहेको बताउँदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरू एकमत हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन् । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो बिषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राखिन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरूको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिने बताइन् ।

भेटमा सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरूले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरू एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !