२० आश्विन २०८१, आइतबार

पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छः लेखक

प्रकाशित मिति :  2 November, 2023 1:16 pm


काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठीक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली कांग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् । पुराना राजनीतिक दलहरू बेठीक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ ।”

उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए । उनले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे ।

उनले भने, “अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदि यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अप्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरू क्रान्ति, बलिदानहरू ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नु छ ।”

लेखकले संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरू संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !