कृषि क्षेत्रमा सहकार्यका लागि दक्षिण कोरियासँग समझदारी
काठमाडौँ । नेपाल र दक्षिण कोरिया बिच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (बिहीबार) कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि मन्त्री डा वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षामन्त्री चुङ्ग हवानकेउनबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यो समझदारीले दुई देशका कृषि विश्वविद्यालयहरूकाे सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरू अगाडी बढाउन सकिनेछ । दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विशेष गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिने दक्षिण कोरियाका कृषिमन्त्री हवानकेउनले बताए ।
त्यस्तै कोरियास्थित हेफर कोरिायमार्फत नेपाललाई उच्च प्रजनन मानका १०१ गाईहरू सहयोग स्वरुप उपलव्ध गराएको र तरकारी तथा फलफूलको मूल्य श्रृंखला विकासका लागि भ्याल्यू चेन संचालन गरिएको स्मरण गराउँदै भविष्यमा पनि यस्ता खाले सहयोग आदानप्रदान गर्दै जाने कोरिया पक्षले धारणा राखेको छ ।
यस्तै कृषि विषयमा स्नातक अध्ययन गरिरहेका विद्यार्थी तथा युवा कृषकका लागि सिक्ने र कमाउने अवसर कोरिया सरकारले दिने समझदारी भएको छ ।
मन्त्रालयका अनुसार कृषि र पर्यटनकाे क्षेत्रमा लगानीकाे सम्भावना भएकाे हुनाले काेरियाकाे विशेषज्ञता तथा सहयाेग यस क्षेत्रकाे विकासकाे लागि महत्तवपूर्ण हुनेछ ।
यस्तो छ समझदारी बुँदाहरू
१)कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिबृद्धिमा दुई देशबीचको सहयोग र सहकार्य गर्न सकिनेछ ।
२)नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद् बिच सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरू अगाडी बढाउने अवसर श्रृजना हुनेछ ।
३)दुई देशका कृषि विश्वविद्यालयहरूको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडि बढाउन सकिनेछ ।
४) दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
५)कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार बिकासमा सहकार्य गर्न सकिनेछ ।
६)कृषि क्षेत्रसंग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषकहरु तथा निजी क्षेत्रमा कृषि उद्यमीहरुको क्षमता अभिबृद्धि गर्न सकिनेछ ।
७)नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरूको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
८)नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेछ ।