२० आश्विन २०८१, आइतबार

‘प्रधानमन्त्रीले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रीपरिषद् बैठक बोलाउनु पर्छ’

प्रकाशित मिति :  4 November, 2023 4:42 pm


काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् ।

उनले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लैको सक्रियताभन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाइ गर्न नहुने तर्क गरे ।

उनले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रूपमा छिटोभन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था गर्न र घाइतेहरूको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरूको परिचालन गर्न पनि सरकारसँग माग गरे ।

‘राज्यले यथाशीघ्र उपचार, राहत र उद्धारको व्यवस्था गर्नुपर्छ भनेर पनि हामीले माग राखेका छौँ । यसो त हामीले बिहानै यहाँ उपलब्ध सिसीका साथीहरूसँग बसेर त्यो कुरा सार्वजनिक गरिसकेका छौँ । किनकि अहिले चाहिँ सरकारलाई पनि हामीले धन्यवाद दिनुपर्छ । किनकि तदारुकताका साथ नै कामहरूलाई अगाडि बढाएको छ सरकारले । त्यो चाहिँ राम्रो कुरा हो’ महासचिव विप्लवले भने, तर, मन्त्रीपरिषद्बाट छिटो निर्णय गर्नुपर्ने कुराहरू चाहिँ ढिलो भएको छ । त्यो प्रधानमन्त्रीको एकल सक्रियता जस्तोले हुँदैन । राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ छिटो भन्ने हाम्रो माग छ । सायद अहिले मन्त्रीपरिषद् पनि बस्दैछ ।’

उनले भूकम्प पीडितको बिचल्ली भएको बताउँदै तत्काल राहत पुर्याउन सरकारसँग माग गरे । सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले बताए । उनकाअनुसार पार्टीले विपद्ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रूपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद्ग्रस्त क्षेत्रतर्फ पठाइको महासचिव विप्लवले बताए । भोलि ९आइतबार० स्वास्थ्यकर्मीहरूको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ । रुकुम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठुलो क्षति गरेको छ ।



प्रतिक्रिया दिनुहोस !