२० आश्विन २०८१, आइतबार

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  5 November, 2023 6:09 pm


काठमाडौँ । संसदीय समितिले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले सो निर्देशन दिएको हो ।

त्यसैगरी बैठकले राहत, उद्धार र पुनःस्थापना कार्यलाई पनि प्रभावकारी बनाउन सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले बताए ।

समितिले विपद्को घडीमा मानवीय सहायता उपलब्ध गराउन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, सहयोगदाताहरूलाई अपिल पनि गरेको छ । घाइतेहरूको शीघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई सचेत गराएको सभापति पन्थले बताए ।

समितिले सो घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !