२१ आश्विन २०८१, सोमबार

रास्वपा उपसभापति अर्यालको गुनासो : गृहमन्त्री श्रेष्ठले भेट्ने समय दिएनन्

प्रकाशित मिति :  6 November, 2023 4:40 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्ने समय नदिएको गुनासो गरेका छन् ।

रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरूले मन्त्री र सांसदहरूलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा नपाएको उनको गुनासो थियो ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरूलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरूलाई लगाउन सरकारलाई सचेत गराए । उनले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए ।

बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन् । उनले संसदीय समितिले यसअघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरूको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपनि सरकारले सो अनुसार कामै नगरेको स्मरण गराइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभूति आफूले गरेको बताए ।

सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले कारणले उपभोक्ताहरू मारमा पर्नुपरेको उनको निष्कर्ष थियो । सांसद राईले सरकारले जिम्मेवारी बोध गरेमात्रै उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !