२१ आश्विन २०८१, सोमबार

भूकम्पपीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती आपत्तिजनक : नेता खनाल

प्रकाशित मिति :  9 November, 2023 2:06 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे ।

उनले भने, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिङ्गो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्ब ती पीडित जनतालाई राहत पुर्‍याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’

पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !