२१ आश्विन २०८१, सोमबार

अब अदालतमा पनि एआईको उपयोग गर्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रकाशित मिति :  10 November, 2023 10:54 am


काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै देखिने भन्दै मिडिया ट्रायलसँग न्यायाधीश डराउनु नपर्ने बताए । उनले आचारसंहिताको विषयमा बारम्बार छलफल हुँदै गरेको बताउँदै अब फेरि नयाँ तरिकाले मिडियासँगको सम्बन्ध र प्रविधिसँगको न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने स्थिति आएको बताए ।

उनले प्रविधि नभइकन न्यायपालिका चल्न गाह्रो रहेको उल्लेख गरे । प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने बताए । उनले पेशी, तारिखमा अटो मेसन लागू गरेसँगै सर्वोच्च अदालतमा हाइसन्चो भएको बताए । प्रधानन्यायाधीश श्रेष्ठले प्रविधियुक्त कुराले जुडिसियरीलाई नगाँस्ने हो भने फेरि पनि न्यायाधीश र न्यायालय आलोच्य भइरहने र कामकारबाहीमा शंका आइरहने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अदालतमा प्रयोग गर्नुपर्ने बताए । उनले आफूले संसदीय समितिको बैठकमा एआईमा केही अध्ययन गर्नुपर्ने कुरा राखेको र यसको अध्ययन गरी प्रयोग गर्न पाए अदालतलाई फाइदा हुने बताए । उनले एआई अब कुनै न कुनै माध्यमबाट कोर्टमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको बताए । प्रधानन्यायाधीश श्रेष्ठले एआईको प्रयोग धेरै खर्चिलो भएको पनि बताए । अदालतमा अनलाइन रजिस्ट्रेसन गर्न जोड दिएको र यसले अदालतमा आउने अनावश्यक भीडलाई कम गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !