२ माघ २०८१, बुधबार

पश्चिम रुकुमका भूकम्प पीडितलाई आजदेखि राहत वितरण गरिँदै

प्रकाशित मिति :  10 November, 2023 12:05 pm


काठमाडौं । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ। सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख आज वितरण गर्न लागिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण सुरु हुँदै छ।

सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए। ‘प्रति मृतकका परिवारलाई दुई लाखका दरले नगद दिइनेछ,’ उनले भने।

शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले जानकारी दिए। आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो। मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ। अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए।

मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने शर्माको भनाई छ।

जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !