२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौंः प्रधानमन्त्री

प्रकाशित मिति :  11 November, 2023 1:25 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताए ।

पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको उनको दबाब छ । उनले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए ।

उनले भने,”२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा शुरु गर्छौं त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।”

प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएको बताए । उनले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताए ।



प्रतिक्रिया दिनुहोस !