नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन् ।
पछिल्लो समय एसोसिएसनले मोही अभियान सुरु गरिरहेको छ । अन्य पेय पदार्थ भन्दा मोही स्वास्थ्यवद्र्धक हुने र डेरी उत्पादनलाई प्रोत्साहन हुने भन्दै एसोसिएसनले प्रर्दशनी, विवाह, मेला तथा कार्यक्रमहरूमा मोही अभियान चलाइरहेको छ ।
पूर्व राष्ट्रपति भण्डारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको परिसरमा प्रत्येक शनिवार लाग्ने स्थानीयर रैथाने कृषि बजारमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले परम्परागत तरिकाले ठेकीमा तुल्याउँदै गरेको मोही सेवन गरेकी हुन् ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भने,“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ज्यू आएर मेला अवलोकन गर्दै मोही सेवन गर्नुभयाे । यसले हाम्रो अभियान थप सार्थक भएको छ । उहाँको उपस्थितिले स्थानीय किसान, उपस्थित उपभोक्ता तथा मेलामा उपस्थित सबैलाई हौसला प्रदान भएको छ ।”
कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले स्टल राख्नुहुने सम्पूर्ण स्थानीय/रैथाने किसान एवं व्यवसायी, उपभोक्ता, सञ्चारकर्मी तथा कार्यक्रममा सहकार्य गर्नुहुने सबैलाई धन्यवाद दिइन् । उनले भनिन्,“ हाम्रो पहिचान नै रैथाने र हाम्रो रितिरिवाज, परम्परा र संस्कृतिमा छ । यसलाई हामी सबै मिलेर बचाउनुपर्छ ।”
मेलामा स्थानीय तहमा उत्पादन गरिएका सामग्री बिक्रीका लागि राखिएको थियो ।
मेलामा राखिएका रैथाने सामाग्रीले आम मानिसलाई आफ्नो गाउँघरमा हिजो आफूले खेतबारीमा उब्जाएको सागसब्वी र अन्य बस्तुको सम्झना दिलाएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका र आसपास बसोबास गर्नुहुने स्थानिय बुद्धिजीवी, राजनीतिक दलका नेता, पत्रकार, आम नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।