२१ आश्विन २०८१, सोमबार

जारी अभियान सफल भइरहेकाे माओवादी केन्द्र रोल्पाको निष्कर्ष,मंसिर १६ पछि वडास्तरीय ‘स्कुलिङ्’

प्रकाशित मिति :  12 November, 2023 8:25 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) रोल्पाले मंसिर १५ पछि वडास्तरीय प्रशिक्षण गर्ने भएको छ ।

शनिबार बसेको जिल्ला समन्वय समितिको ७ औँ पूर्ण बैठकले मंसिर १५ पछि जिल्लामा वडास्तरीय प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले देशैभरी गत भदौ १६ गतेदेखि तीन महिने अभियान सुरु गरेको थियो ।

मंसिर १६ गते सकिने अभियानको समय एक महिना थप गरिएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ जारी अभियान रोल्पामा पनि चलिरहेको छ ।

माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गरेको थियो । माओवादी केन्द्रका राेल्पा जिल्ला समन्वय समिति संयोजक पूर्ण केसीले यसअघि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भएकोमा अब वडास्तरमै ‘स्कुलिङ’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले रोल्पामा अभियान सोचे अनुसार अगाडि बढिरहेको निष्कर्ष निकालेको छ । जिल्ला संयोजक पूर्ण केसीले भने, “रोल्पामा पार्टीको अभियान सफलतापूर्वक सोचे अनुसार नै चलिरहेको भन्ने निश्कर्ष छ । ”

अभियानकै क्रममा रोल्पामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा माओवादी केन्द्र रोल्पाले जनसभा समेत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !