२१ आश्विन २०८१, सोमबार

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय

प्रकाशित मिति :  13 November, 2023 2:39 pm



काठमाडौँ । सरकारले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावितका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण क्षति भएका रआंशिक क्षति भएता पनि बसोवास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरेर प्रतिपरिवार ५० हजार रुपैयाँ पठाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

रकम सिधै सेवाग्राहीको खातामा पठाइने भएको छ ।

विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणाा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधै उपलब्ध गराउने सरकारको निर्णय छ ।

यस्तै सहकारी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराउन तथा अस्थायी आवास निर्माण र प्राविधि परिचालनक अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

अस्थायी आवास निर्माण लगायतको कार्यमा आवश्यक समझदारी कायम गर्न तथा सहयोग र समन्वय गर्न स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरी परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

भूकम्पबाट प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले तत्काल खोज, उद्धार र राहतका लागि उक्त निकायले उपलब्ध बजेटबाट गरेको इन्धनबापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने समेत सरकारले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !