२१ आश्विन २०८१, सोमबार

मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको तयारी सुरु

प्रकाशित मिति :  16 November, 2023 6:32 pm


काठमाडौं । मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको हो ।

छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सजाउने कार्य जारी छ । बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो ।

आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले सिँगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई नवदुलही झैँ सजाइँदै छ ।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्दछन् । जनकपुरधामका साथै तराई मधेसका गाउँ गाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।

यस वर्ष शुक्रवारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन शुक्रवार नहाय खाए, शनिवार खरना, आईतवार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइनेछ भने सोमवार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत् समापन हुन्छ ।



प्रतिक्रिया दिनुहोस !